गत वर्षभन्दा घटेर आयो प्रदेश ५ को बजेट, बजेटको पूर्णपाठ हेर्नुहोस्

मुख्यमन्त्री पोखरेलले लकडाउनले शिथिल बनाएको प्रदेशको अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि क्षेत्र र वैदेशिक रोजगारबाट फर्कने व्यक्तिहरुका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको  बताएका छन् ।
यस पटक स्वास्थ्य, कृषि र रोजगारीमा बजेट केन्द्रित सरकारले गरेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि कृषि उत्पादन, स्वास्थ्य सुधार र रोजगारीमा स्थापनालाई प्राथमिकतामा राख्ने उल्लेख थियो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले जेठ १३ गतेसम्म कुल बजेटको १४ अर्ब ७ करोड ७१ लाख १९ हजार अर्थात ३८.६३ प्रतिशत बजेट मात्र खर्च गरेको छ । तिव्र काम हुने समयमा लकडाउनले गर्दा काम हुन नसकेको प्रदेश सरकारको भनाइ छ ।

बजेटको पूर्णपाठ हेर्नुहोस्ः


माननीय सभामुख महोदय,

१.    कोरोना भाइरसको संक्रमणबाट फैलिएको कोभिड -१९ रोगबाट सिर्जित प्रतिकूल परिस्थितिमा यस गरिमामय प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु ।
२.    आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहँदा म संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनासम्मका क्रान्ति तथा संघर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् शहिदहरुलाई स्मरण गर्न चाहन्छु । साथै नेपाली समाज रुपान्तरणको क्रममा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । घाइते योद्धा र बेपत्ता नागरिकहरुलाई यस अवसरमा सम्मानका साथ सम्झन चाहन्छु ।
३.    यसैबीचमा दिवंगत हुनुभएका प्रदेश सभामा प्रतिपक्षी दलको नेता तथा ज्येष्ठ सदस्य माननीय बलदेव शर्मा पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु  । कोभिड -१९ का कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।


४.    कोभिड-१९ को कारणले गर्नुपरेको बन्दाबन्दी, सामाजिक दुरी कायम गर्नुपर्ने वाध्यात्मक अवस्था लगायतका प्रतिकूलताकाबीच धैर्यताका साथ कोरोना भाइरस नियन्त्रण र उपचार अभियानमा साथ दिनु भएकोमा प्रदेश सरकारको तर्फबाट म प्रदेशबासी सम्पूर्ण दिदीबहिनी दाजुभाइको उच्च प्रशंसा गर्दछु । कोभिड -१९ नियन्त्रण तथा उपचारमा अहोरात्र खट्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि एवम् सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, पत्रकार, पेशा व्यवसायीलगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
५.    जतिबेला प्रदेश सरकार समृद्ध प्रदेश : खुशी जनताको सोच हासिल गर्न अहोरात्र खटिइरहेको थियो, ठीक त्यति नै बेला विश्वव्यापी रुपमा फैलिन गएको कोभिड -१९ को महामारीले हाम्रो मार्ग अबरुद्ध गर्‍यो । हाम्रा प्राथमिकताहरू अचानक फेरिन पुगे । यतिबेला हामीले यो महामारीबाट प्रदेशबासी दिदीबहिनी दाजुभाइको जीवन रक्षा गर्नुलाई नै आफ्नो पहिलो कर्तव्य ठान्यौं । जीवन रहे जीवन सुधार्न र सिंगार्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै महामारी विरूद्धको अभियानमा उपलब्ध सबै साधन स्रोतको यथोचित परिचालन गरिरहेका छौं । महामारीका विरूद्धको संघर्षकै बीचमा पनि जीवनको सहजताका लागि अधिकतम कोशिस गरिरहेका छौं ।
६.    कोभिड -१९ को कारण विश्वव्यापी रूपमा नै अर्थतन्त्रको जग हल्लिएको छ । यसबाट हाम्रो अर्थतन्त्र पनि गम्भीर रूपमा प्रभावित भएको छ । उत्पादन र आपूर्ति श्रृङ्खला खल्बलिन पुगेको छ । व्यापार व्यवसाय तथा लगानीमा उल्लेख्य गिरावट आएको छ। रोजगारीका अवसरहरू गुम्दै गएका छन् । वैदेशिक रोजगारीमा गएका दिदीबहिनी दाजुभाइको नेपाल फर्कने चाप बढेसँगै स्वदेशमै रोजगारीका थप अवसरहरू सिर्जना गर्नुपर्ने वाध्यात्मक स्थिति सिर्जना भएको छ । यतिबेला सिङ्गो समाज र अर्थतन्त्र दुवै राहत र पुनर्स्थापनाको पर्खाइमा छन् । राज्यको आयस्रोतमा भएको तीव्र गिरावटले सरकारको वित्तीय सामर्थ्य पनि खुम्चिएको अवस्था छ । तर पनि जनताको सरकार भएको नाताले अभिभावकत्व र संरक्षकत्व प्रदान गर्नुपर्ने जिम्मेवारीमा छौ ।
७.    यी यस्ता यावत प्रतिकूलता र चुनौतीका बाबजूद वित्तीय अनुशासन कायम गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम राख्न मद्दत गर्नेगरी स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा प्रवाहको सुनिश्चितताका साथै मानिस र अर्थतन्त्रको जीवनधरा पुनर्स्थापित गर्नुपर्ने भएको छ । त्यसका लागि उपलब्ध साधन र स्रोतको कुशलतम विनियोजन गर्नुको विकल्प हामीसँग छैन ।
८.    संविधानले परिकल्पना गरेअनुसार आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समाजवादउन्मुख राष्ट्र निर्माण गर्ने एवम् समानुपातिक-समावेशीकरण सहभागिता र सामाजिक न्यायको प्रत्याभूति गरी लोककल्याणकारी राज्यव्यवस्था स्थापना गर्ने कर्तव्यप्रति सरकार सजग छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा कोभिड -१९ महामारीको नियन्त्रण र रोकथामको कामलाई उच्च प्राथमिकता दिंदै सकेसम्म छिटो स्थितिलाई सहज बनाउँदै लगिनेछ । साथै सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी तीव्र आर्थिक वृद्धिका माध्यमबाट समृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई पुनर्स्थापित गरिने छ ।
९.    यतिवेला सिङ्गो राष्ट्र र प्रदेशका जनताको आयको मुख्य स्रोतको रुपमा रहेको विप्रेषण आय घट्दो क्रममा छ। बन्दाबन्दीका कारण कृषि, उद्योग, पर्यटन, खानी, निर्माण सबैतिर प्रत्यक्ष असर पुग्न गएको छ। राज्यको आम्दानी घट्ने तर खर्चको चाप भने झन् बढिरहेको विषम परिस्थितिमा हामी छौं। यस विषम अवस्थाबाट मुलुकलाई जोगाउन आवश्यक सतर्कताकासाथ उत्पादन कार्यलाई अघि वढाउने प्रयासमा हामी छौं ।
१०.    प्रदेश आफैमा नयाँ शासनप्रणालीको नयाँ संरचना भएको कारणले साधन, श्रोत र जनशक्ति अभाव एवम् भौतिक पूर्वाधारहरूको कमी छँदैछ । यसबीचमा आधारभूत संरचना तयार भएपनि कार्यान्वयन गर्ने संगठनहरूको संस्थागत क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ । बजेट विनियोजनमा कुशलताका साथसाथै खर्च गर्ने क्षमतामा सुधार गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसमाथि कोभिड -१९ बाट सिर्जित थप आर्थिक सामाजिक चुनौतीहरुको सम्वोधन गर्नुपर्ने वाध्यात्मक परिस्थिति हाम्रा सामु छ । अप्ठ्यारोबाट भाग्ने होइन, त्योसँग जुध्ने, समाजलाई अरू बढी बलियो र गतिशील बनाउने प्रयासबाट नै हामीले संकटलाई अवसरमा बदल्न सक्छौँ । विप्रेषणमाथिको निर्भरतालाई आन्तरिक उत्पादनका माध्यमबाट घटाउने अवसर पनि यस संकटले हामीलाई प्रदान गरेको छ । यही आशा र विश्वासको जगमा उभिएर यो बजेट निर्माण गरिएको छ ।
११.    प्रदेश सरकार कोभिड -१९ को फैलावटले उत्पन्न हुन गएको प्रतिकूल परिस्थितिलाई अर्थतन्त्रमा संरचनागत परिवर्तन ल्याउने अवसरको रूपमा बदल्न प्रतिबद्ध छ । नेपाल सरकारको नीति र बजेटसँग तादात्म्यता मिलाउँदै, आयात प्रतिस्थापन गर्दै र परनिर्भरता घटाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट र कार्यक्रम केन्द्रित गरिनेछ । कामको खोजीमा विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुका साथै कृषि, उद्योग, निर्माण, खानी, पर्यटनलगायतका क्षेत्रमा गाउँघरमै रोजगारी र स्वरोजगारीका अवसर जुटाइनेछ । सूचना प्रविधिको प्रयोग र नयाँ प्रविधिको उपयोग गरी उत्पादन लागत घटाउने, बाँझो जमिनलाई हराभरा गर्ने, कम्तीमा पनि दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत आवश्यकताका वस्तुहरू स्थानीय स्तरमै उत्पादन गर्न सक्ने, स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवा सुलभ बनाउने, गुणस्तरीय शिक्षा, सरसफाइ,  खानेपानी र सिंचाइ सुविधामा वृद्धि गरी  समाज र अर्थतन्त्रका टुट्न लागेका कडीलाई जोडिने छ । कोभिड -१९ ले सिर्जित चुनौतीको सामना गर्नेगरी उत्पादन, उपभोग, बसाइसराइ र बसोबास संस्कृतिलाई अनुकूल बनाउँदै प्रतिकल अवस्थामा पनि मजबूत बन्ने सामर्थ्यको विकासमा जोड दिइने छ ।

माननीय सभामुख महोदय,
अब म कोभिड -१९ नियन्त्रण र उपचारको सम्बन्धमा प्रदेश सरकारले अहिलेसम्म गरेका प्रयासको बारेमा संक्षेपमा चर्चा गर्न चाहन्छु ।
१२.    कोभिड -१९ को असर नेपालमा पर्ने सम्भावनालाई दृष्टिगत गरी प्रदेश सरकारले समयमा नै मेला महोत्सवजस्ता भिडभाडजन्य गतिविधिमा रोक लगाउने काम गरेको थियो । नेपाल सरकारले बन्दाबन्दीको घोषणा गरेसँगै प्रदेश सरकारले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दियो । राजधानीलगायत देशका विभिन्न भागबाट भित्रने नागरिक र पछिल्लो समयमा भारतबाट आउने प्रवासीहरूको व्यवस्थापन र सहजीकरणको जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा हामी रह्यौँ । भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाकाहरू रहेका कारणले प्रदेशका बासिन्दाको मात्र होइन अन्य प्रदेशका बासिन्दाको समेत व्यवस्थापन गर्नुपर्‍यो । संकटको यस परिस्थितिले पनि प्रदेश नं. ५ को राष्ट्रिय जिम्मेवारी विशेष रहेको अनुभूति भएको छ ।
१३.    प्रदेश सरकार कोभिड -१९ को नियन्त्रण र उपचारको काममा शुरुदेखि नै सक्रिय रह्यो। कोभिड -१९ को उपचार स्वास्थ्य सेवाका नियमित कार्यक्रमसित सँगसँगै सञ्चालन गर्नु जोखिमपूर्ण हुने मान्यताका आधारमा कोरोना विशेष अस्पतालको अवधारणालाई अघि वढायौँ । मन्त्रिपरिषद्को बैठकबाट नै माननीय मन्त्रीहरूको नेतृत्वमा कोरोना विशेष अस्पतालको स्थापना गर्ने र कोभिड -१९ नियन्त्रण र उपचार कोष स्थापना गर्ने काम भयो । प्रदेशभित्र कोरोना परीक्षण प्रयोगशाला स्थापनामा जोड दियौँ । आज ती प्रयासहरू कोभिड -१९ नियन्त्रण र उपचारको आधार बन्न पुगेका छन्।
१४.    विश्व स्वास्थ्य संगठनको प्रोटोकल र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको गाइडलाइनलाई प्रदेशमा रचनात्मक रूपमा कार्यान्वयनमा ल्याइएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र स्थापना गरी नियमित बैठक बसी संस्थागत रूपमा समन्वय र सहजीकरण गर्ने गरिएको छ । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयमा वढ्दै गरेका चुनौतीहरूलाई समाधान गर्दै अघि वढ्ने काम भएको छ ।
१५.    कोभिड -१९ संक्रमित व्यक्तिहरूको उपचारको लागि रुपन्देहीको भीम अस्पताल, बुटवल धागो कारखाना, दाङको आयुर्वेद अस्पताल बेलझुण्डी र बाँकेको शुशील कोइराला प्रखर अर्बुद रोग अस्पताल गरी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल स्थापना गरिएको छ। सबै अस्पतालहरूमा भेन्टिलेटरसहितको आइसियु सेवा प्रदान गर्नेगरी तयार राखिएको छ । रुपन्देहीको गहुँबाली अनुसन्धान केन्द्र परिसरमा कोरोना भाइरस परीक्षणको प्रादेशिक प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको संयोजन र लगानीमा भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भारतबाट आउने सम्भावित संक्रमितहरूको संख्यामा वृद्धि भएसँगै प्रयोगशालाको संख्या, क्षमता र दायरा वढाउने काम भइरहेको छ । आगामी हप्तादेखि प्रदेशका प्रयोगशालाको क्षमता दोब्बर हुने विश्वास लिएको छु । बिरामीको संख्या वढेसँगै प्रदेशका सबै जिल्लामा आइसोलेशन केन्द्र स्थापना गर्ने प्रबन्ध मिलाइएको छ । प्रदेशका सबै संक्रमितहरूको प्रदेशमै उपचार हुने अवस्था तयार भएको छ ।
१६.    प्रदेश सरकारले जिल्ला र स्थानीयस्तरबाट भइरहेका कामहरूको पनि समन्वय र सहजीकरण गरिरहेको छ । स्थानीय तहबाट सम्पादन भइरहेको क्वारेन्टाइनको व्यवस्थापन र राहतको कामलाई व्यवस्थित बनाउनका लागि प्रदेश सरकारको तर्फबाट प्रत्येक गाउँपालिकालाई रू. १० लाख, नगरपालिकालाई रू. १५ लाख र उपमहानगरपालिकालाई रू. २० लाख प्रदान गरिएको छ । मुख्य भन्सार नाका रहेका र अन्य प्रदेशका बासिन्दाहरूको समेत व्यवस्थापन गर्नुपर्ने जिम्मेवारीमा रहेका कारणले नेपालगञ्ज उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई थप रू. ५ लाख प्रदान गरिएको छ । क्वारेन्टाइनको व्यवस्थापन र राहत वितरणको काममा सहयोग पुगोस् भनेर प्रदेश सभाका माननीय सदस्यहरूको समेत सहभागितामा अनुगमनको व्यवस्था मिलाइएको छ । यस कामका लागि सबै जिल्ला समन्वय समितिलाई रू. ५ लाखका दरले रकम उपलव्ध गराइएको छ । सुरक्षा निकायको परिचालनमा सहजताका लागि तीनवटै सुरक्षा अंग र १२ वटै जिल्लाका जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रलाई आवश्यक खर्चको व्यवस्था गरिएको छ ।
१७.    प्रदेश सरकारले कोभिड -१९ नियन्त्रण तथा उपचार कोष स्थापना गरी प्रदेश सरकारको तर्फबाट कोषमा रू. १० करोड जम्मा गरिएको छ । सर्वसाधारण नागरिक र विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी छ । कोषमा प्राप्त सहयोग रकम समेत गरी जेठ मसान्तसम्म जम्मा रू. १५ करोड ६ लाख संकलन भएको छ । उक्त कोषबाट कोरोना परीक्षण र उपचारसँग सम्वन्धित निकायलाई रू. ७ करोड ७९ लाख ३० हजार निकासा समेत गरिएको कुरा यस सम्मानित सभालाई अवगत गराउन चाहन्छु । उक्त कोषमा रकम अभाव हुन नदिन चालु आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट थप रू. १० करोड जम्मा गरिनेछ । कोषमा योगदान गर्ने सबैलाई धन्यवाद दिंदै थप सहयोगका लागि आह्वान गर्न चाहन्छु।
१८.    अहिलेसम्म कोभिड -१९ को नियन्त्रण र उपचारका सन्दर्भमा जम्मा रू. ४३ करोड ५५ लाख ५३ हजार निकासा गरिएको छ । यसमा कोभिड -१९ नियन्त्रण र उपचार कोषबाट रू. ७ करोड ७९ लाख ३० हजार निकासा भई खर्च भएको छ । नियमित बजेटबाट यसै प्रयोजनका लागि रू. 35 करोड ७१ लाख निकासा दिईएको छ । यसमा कोभिड -१९ नियन्त्रण र उपचार कोषका लागि रू. 10 करोडका साथै १०९ वटै स्थानीय तह र १२ वटै जिल्ला समन्वय समितिलाई प्रदान गरिएको नगद अनुदान रू. १३ करोड ६० लाख समेत समावेश छ । बाँकी रकम रू. १२ करोड १६ लाख ५३ हजार कोरोना विशेष अस्पताल र प्रयोगशालाको स्थापनाका साथै प्रदेश अन्तर्गतका अस्पतालहरूमा स्वास्थ्य सामग्री खरिद लगायतका कार्यका लागि प्रदान गरिएको छ । खर्च विधिसम्मत र सम्वन्धित निकायको लेखाप्रणालीबाट हुने पारदर्शी व्यवस्था गरिएको छ । साथै, कोभिड -१९ को उपचारमा अनावश्यक खर्च नगर्ने र रकमको अभाव हुन नदिने कुरामा प्रदेश सरकार सचेत छ ।
१९.    बन्दाबन्दीका बीचमा पनि कृषिकार्यमा असर नपरोस् भन्ने कुरामा प्रदेश सरकारले विशेष ध्यान पुर्‍याएको छ । किसानको उत्पादन बजारसम्म पुर्‍याउनका लागि कृषि एम्वुलेन्सको अवधारणालाई प्रयोगमा ल्याइएको छ । प्रदेशका कृषकहरूलाई राहत र विदेशबाट फर्किएका युवाहरूलाई तत्काल कृषि पेशामा आकर्षित गर्नको लागि कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गरी रू. ५१ करोड १४ लाख परिचालन गरिएको छ । यसबाट कोभिड -१९ का कारणले निरुत्साहित बन्न पुगेका किसानलाई थोरै भएपनि राहत पुग्ने विश्वास लिएको छु । विदेशबाट फर्किएकाहरूलाई कृषिकार्य अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरेको छु ।
२०.    कोभिड -१९ को नियन्त्रण र उपचारका क्रममा तीन तहका सरकारका बीचको अन्तरनिर्भरता बढेको छ । स्थानीय तह र संघका बीचको पुल मात्र होइन, महाविपत्ति र संकटको समयमा प्रदेशबासी  दिदीबहिनी दाजुभाइहरूका लागि प्रदेश सरकार नै भरपर्दो सहारा हो भन्ने सच्चाइ स्थापित भएको छ । यसले ऐतिहासिक संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहितको संविधानको सान्दर्भिकता पुनःपुष्टि भएको छ ।
माननीय सभामुख महोदय,
अब म प्रदेशको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आर्थिक स्थितिका बारेमा संक्षिप्त जानकारी गराउन चाहन्छु ।
२१.    प्रदेश स्थापनाको छोटो समयमै प्रदेश सरकारका लागि आवश्यक आधारभूत सांगठनिक संरचना तथा कानुनी आधारहरू तयार भएका छन् । आगामी वर्षदेखि प्रदेश सरकार पूर्ण क्षमताकासाथ बजेट कार्यक्रम कार्यान्वयन गर्नसक्ने अवस्थामा आइपुगेको छ ।
२२.    चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहँदा दोस्रो चौमासिकसम्म आइपुग्दा हामी उत्साहित नै थियौं । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा हाम्रो बजेट कार्यान्वयन क्षमता दोब्बर मात्रामा बढिरहेको थियो । विकास निर्माण र ठेक्कापट्टाका कामले गति लिंदै थिए । स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने अनुदानका रकमहरू समयतालिका अनुसार नै उपलब्ध गराइएको थियो। पहिलो चौमासिकको तुलनामा दोस्रो चौमासिकको प्रगति अझै राम्रो देखिएको  थियो । त्यसबाट वर्षको अन्त्यसम्ममा बजेट खर्चका दृष्टिकोणबाट लक्ष्यको नजिक पुग्ने बलियो आधार तयार भएको थियो ।
२३.    सोही अवधिमा प्रदेशको विकासमा ठोस योगदान गर्नसक्ने आयोजना पहिचान गरी प्रदेश गौरवका आयोजना छनौट गर्ने र ठूला आयोजनाहरू पहिचान गरी बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत निर्माण गराउन मार्गप्रशस्त गरिएको थियो । प्रदेशका उत्पादन र पहिचानलाई प्रवर्द्धन गर्नका लागि प्रदेश एक्स्पोजस्ता नवीन प्रयासहरू थालनी गरिएका थिए । प्रदेशमा थप लगानी आकर्षित गर्नको लागि लगानी सम्मेलनको पूर्वतयारी सम्मेलन आयोजना गरिसकिएको थियो। विकास साझेदारहरूसँग सम्वाद बढाउँदै आपसी सहयोगका क्षेत्रहरूको पहिचान गरिँदै थियो। बजेट कार्यान्वयनमा तीव्रता आउँदै गरेका बेला अचानक कोभिड -१९ को महामारी सामना गर्नुपर्ने प्रतिकूल अवस्था उत्पन्न भई हाम्रा प्रयासहरू ठप्प हुन गए ।
२४.    समृद्ध प्रदेश : खुशी जनता निर्माण गर्ने सोचका साथ प्रदेशको प्रथम आवधिक योजनाअनुरूप योजनावद्ध विकासको थालनी गरिएको एक वर्ष पूरा भएको छ । योजना अवधिको पाँच वर्षमा ९.५ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गर्ने हाम्रो लक्ष्यमा कोभिड -१९ को कारण चालु आर्थिक वर्षमा हठात अवरोध आएको छ । तर आगामी साउन महिनादेखि कोभिड -१९ को प्रभावमा कमी आउने र जनजीवन क्रमश: सामान्य अवस्थामा फर्कन सक्ने आँकलन गरिएको छ । विदेशबाट आउनेहरूको सुरक्षित व्यवस्थापन गर्नसक्दा हाम्रो अनुमान सार्थक हुने अपेक्षा गरिएको छ । सोही अपेक्षाअनुरुप अहिले पनि संकटको सामना चालुवर्षमै गरी आगामी आर्थिक वर्षमा उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यमा हाम्रो अर्जुनदृष्टि कायमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *